कुलेखानी बाँधको ढोका नखोलिने, खतरा कम गर्न सबै टर्वाइन घुमाएर बिजुली निकाल्ने

फाइल तस्वीर

काठमाडाैं, ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ ।

ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार तीन/चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विद्युत कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विद्युत निकालिनेछ ।

त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा पहिराले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गएराति आएको पहिरामा पुरिएर स्थानीय अन्दाजी ४५ वर्षीया कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामी बेपत्ता भएका थिए । उनीहरुको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । पहिराले पुरिएर कान्छीमायाकी बुहारी अन्दाजी ३०–३२ वर्षीया बेली बलामी भने घाइते भएकी छिन् ।

बिहीबारदेखि भएको निरन्तर वर्षाका कारण बाढीपहिरामा परी मकवानपुरमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । मकवानपुरको इन्द्रसरोवरमा आइतबार राति घरमा लडेको पहिरामा परी स्थानीय आमाछोरी कान्छीमाया बलामी र उनकी छोरी १८ वर्षीया बबिता बलामीको शव सोमबार फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।

यसअघि निरन्तर परेको वर्षाले शुक्रबार मकवानपुरको थाहा नगरपालिका वडा नं ३ मा महाभिर खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भएको थियो । जिल्लाकै कैलाश गाउँपालिका वडा नं १० नामटारस्थित शुक्रबार डर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको थियो । यस्तै शुक्रबार नै जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं २ मा वर्ष १४ की सृष्टी डिम्डुङको पहिराले पुरिएर मृत्यु भएको थियो ।

त्यसैगरी सिन्धुलीको हरिहरपुर गढी, सर्लाही तथा रौतहटका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here