‘प्लास्ट नेपाल २०२२’ जेठ १२ देखि, प्लाष्टिकजन्य उत्पादन तथा कच्चा पदार्थ प्रदर्शनीमा राखिने

काठमाडौं, ९ जेठ । प्लाष्ट नेपाल फाउण्डेशनले जेठ १२ देखि काठमाडौंको भृकुटी मण्डपमा प्लास्ट नेपाल २०२२ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्न लागेको छ । प्रदर्शनी ३ दिन चल्ने छ । फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो ।

अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् ।

प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो । नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरु सँग मिलेर काम गरिरहेको छ ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा आयोजकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here