फलफूल र जडिबुटी प्रशोधनको लागि सस्तोमा कर्जा, आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने

जडिबुटीको फाइलफोटो

काठमाडौं, १२ जेठ । बैंक तथा वित्तीय संस्थाहरुले फलफूल एवं जडिबुटी उत्पादन तथा प्रशोधन परियोजनामा आधार दरमा अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप गरी आवधिक कर्जा गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७८ को इ.प्रा. निर्देशन नं. २ को बुँदा ३८ मा यो व्यवस्था थप गरेको हो।

एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै भनेको छ ‘फलफूल एवम् जडिबुटी उत्पादनका लागि पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ । यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुनेभएका कर्जामा लागु हुने छैन ।’

हाल वाणिज्य बैंकहरुको न्यूनतम ७.३१ प्रतिशतदेखि अधिकतम १०.११ प्रतिशतसम्म बेसरेट कायम छ । सो निर्देशनसँगै अब फलफल तथा जडिबुटी उत्पादकहरुले न्यूनतम ९.३१ प्रतिशतदेखि १२.११ प्रतिशत ब्याजदरमा कर्जा उपयोग गर्न पाउने भएका छन् ।

१ करोड सम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा पनि आधार दरमा २ प्रतिशतसम्म मात्रै थप गरेर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here