सेबोन नीति तथा कार्यक्रम २०७६/७७, आईपीओको मूल्य कम्पनी आफैले निर्धारण गर्न पाउने

सेबोन नीति तथा कार्यक्रम २०७६/७७

काठमाडौं, ३० असार । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७६/७७ मा निजीक्षेत्रका कम्पनीहरुले शेयरको निष्काशन प्रिमियम मूल्यमा गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

‘संगठित संस्थालाई कम्पनीको शेयरको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनको प्रतिस्पर्धात्मक मूल्य निर्धारणका लागि बुक बिल्डिङ प्रणाली कार्यान्वयनमा ल्याइने छ,’ आव २०७६/७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धि नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी, हकप्रद शेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरिने भएको छ ।

आगामी आवभित्रै दोस्रो स्टक एक्सचेञ्जको स्थापना कार्य पनि गरिने सेबोनको भनाइ छ । धितोपत्र दोश्रो वजारलाई जिल्ला र स्थानको आर्थिक क्षमता र गतिविधिको साथै नेप्सेको क्षमतानुसार क्रमशः विस्तार गरिने पनि उसले बताएको छ । साथै, दुई वस्तु बजार एक्स्चेञजलाई पनि अनुमति दिइने छ ।

‘मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भावनाका साथै लगानीकर्ताको हक हितलाई ध्यानमा राखी दुई वटा मात्र वस्तु विनिमय बजार सञ्चालन अनुमति दिने नीतिगत व्यवस्था गरिए अनुसार निर्धारित मापदण्ड अनुरुप वस्तु विनिमय बजारलाई अनुमति दिई संचालन गराइने छ,’ बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले भने । वस्तु विनिमय बजार संचालनमा आए पश्चात वस्तु कारोबार व्यवसायीको लागि बजारको प्रतिस्पर्धी एवं गुणात्मकरुपमा विकास हुने गरी अनुमति दिने पनि उनको भनाइ छ ।

रु. ५० करोड वा सो भन्दा माथिका र रु. १ अर्ब वा सो भन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्रयाउन प्रोत्साहन गर्ने पनि सेबोनको योजना छ ।

सूचीकृत कम्पनीहरुका सस्थापकहरुको लक इन पिरियड सम्बन्धमा हाल रहेको व्यवस्थालाई बजारमा प्रतिकूल असर नपर्ने गरी सुधार गर्ने पनि उसको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सामूहिक लगानी योजनाको विकास विस्तार र प्रबद्र्धनका लागि सम्झौतित बचत परिचालन गर्ने बीमा कम्पनीहरुको सहायक कम्पनीमार्फत सहभागी हुन सक्ने व्यवस्था गरिने छ । साथै, क्रेडिट रेटिङ्ग व्यवसायलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन शुल्क पुनरावलोकन तथा संस्थाको रेटिङ्ग जस्ता व्यवस्थासहित आधारभूत सुधार गर्ने कार्यक्रम छ ।

यसका साथै, धितोपत्र दर्ता तथा निष्काशन, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग, मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल सम्बन्धी नियमवलीहरुलाई सुधारात्मक उल्लेख्य संशोधन गरी कार्यान्वयन गर्ने, धितोपत्र बजारको स्थायित्व तथा दीर्घकालीन विकासका लागि आवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने र सरकारमार्फत् विधायन प्रक्रियामा लैजाने र मस्यौदा भई अन्तिम चरणमा रहेको भित्री कारोबार नियमावली पारित गराई शीघ्र लागू गर्ने जस्ता योजना सेबोनका छन् ।

(सोमबार साँझ ९ः०० बजे सम्पादित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here