‘बजेट मतदाता भ्रममा पारेर भोट बटुल्न सत्ता गठबन्धनले ल्याएको चुनावी पर्चा’

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चुनावी पर्चाजस्तो भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट सत्ता गठबन्धनको चुनावी पर्चाजस्तो भएको टिप्पणी गरेका हुन्।

उनले मतदातालाई प्रभावमा पारेर आसन्न निर्वाचनमा मत बटुल्ने उदेश्यले बजेट ल्याइएको पनि आरोप लगाए।

‘मतदाता भ्रममा पारेर भोट बटुल्ने उदेश्यले आएको छ,’ पौडेलले भने, ‘राज्य शक्ति र स्रोतलाई दल विशेष वा दलहरुको गठबन्धनमा दुरुपयोग गर्न पाइँदैन। तर यहाँ यही भएको छ। बजेटले बजेटको मर्ममाथि नै प्रहार गरेको छ।’

उनले अघि भने, ‘यो बजेटले तिव्र गतिमा विकास गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय इच्छा पूरा गर्ने, राष्ट्रिय कार्यभार वहन गर्न सक्दैन्।’

गठबन्धनको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ उच्चारण गर्न पनि संकोच मानिरहेको उनले बताए। ‘यो गठबन्धन नेपाल समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न त परै जाओस्, उच्चारण समेत गर्न पनि संकोच मानिरहेको छ।’

यो बजेटमा लगानीको स्रोत जुट्ने विश्वासिलो आधार नभएको उनले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here