काठमाडौं, २१, जेठ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । बीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औं साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाएका हुन् ।‘निजगढ बिमानस्थल बनाउनुपर्छ,बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने,‘यो सरकारले निजगढ बिमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’
अर्थमन्त्री शर्माले त्रिभुवन बिमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ बिमानस्थल चाहिएको जिकिर गरे ।
साथै निजगढ बिमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको समेत बताए । ‘मधेशलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ, यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तराष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो’ उनले भने ।
त्यस्तै बीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उहाँले जानकारी दिए ।
बीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान बीरगञ्ज चिनी उद्योगको निरिक्षण गरेका थिए । सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल संचालनयोग्य रहेको जानकारी दिएका थिए ।‘बीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’ उनले भने, ‘६–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’
अर्थमन्त्री शर्माले चिनी मिल संचालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन बीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।
बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास समेत दिलाए । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेका थिए । मन्त्री शर्माले पथलैया–बीरगञ्ज करिडोर, निजगढ बिमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने बिषय, सुख्खा बन्दरगाह, एकिकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट बीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताए ।
त्यस्तै आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दिगो अर्थतन्त्र निर्माण गर्ने, बिद्युतमा छुट दिएर स्वदेशी उद्योगको संरक्षण गर्ने, निर्यातमा ८ प्रतिशतसम्म प्रोत्साहन रकम दिने, तयारी र कच्चा बस्तुको आयातमा लाग्दै आएको भन्सार दरमा एक तहको अन्तर गर्नेलगायतका बिषयबस्तु राखेर देशभरका उद्योगीलाई सम्बोधन गर्नेक्रममा बीरगञ्जका व्यवसायी पनि समेटिएको बताए ।
सो कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताए । उनले कठिन आर्थिक अवस्थामा बजेट आएको बताउँदै दबाबमा रहेको अर्थव्यवस्थालाई सही दिशामा ल्याएर नेपाल र नेपालीको भाग्य बदल्ने प्रयत्न गरिएको जानकारी दिए ।‘बजेटको माध्यमबाट आत्मनिर्भर हुने र उद्योग व्यापारलाई औद्योगिकरण गर्न खोजिएको छ’ अर्थ सचिव मरासिनीले भने ।‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा लिने संभवत सरकारको यो पहिलो दस्ताबेज हो ।’