दूरसञ्चार प्राधिकरणको आग्रह-‘अनुमतिबिना इण्टरनेट सेवा सञ्चालन गरेको फेला परे खबर गर्नुस्’

काठमाडौं, २६ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण,अनुगमन महाशाखाले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो।

अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इण्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इण्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ-‘ दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ। हाल सामाजिक संजालहरुमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्नु/नगराउनु हुन सूचित गरिन्छ।अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउने जस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराउदै यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

अत: सेवाग्राहीहरुलाई भ्रममा नपर्न र नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन गरेको वा वितरण गरको कसैलाई थाहा/जानकारी भएमा तल उल्लिखित ठेगानामा सम्पर्क/सूचित गरिदिनुहुन समेत यसै सूचना मार्फत अनुरोध गरिएको सूचनामा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here