२६ वर्षपछि नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक, भदौ २ सम्म टेन्डर हाल्न पाइने

काठमाडौं १, साउन । नेपाल स्टक एक्सचेञ्जमा रहेका सेयर राष्ट्र बैंकले बेच्ने भएको छ । यसका लागि राष्ट्र बैंकले टेन्डर जारी गरेको छ । एक महिनाको समय दिएर राष्ट्र बैंकले मंगलबार टेन्डर निकालेको हो ।

नेप्सेमा रहेको १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर राष्ट्र बैंकले विक्री गर्न लागेको हो । सो सेयरमा राष्ट्र बैंकले प्रतिकित्ता न्यूनतम १ हजार ३२ रुपैयाँ भन्दा बढिमा विक्री गर्न थालेको हो । राष्ट्र बैंकले उक्त सेयर प्रतिकित्ता सय रुपैयाँका दरले लगानी गरेको थियो ।

सूचना सेयर खरिद गर्न (खरिदकर्ता) बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्था हुनु पर्नेछ । सेयर खरिदको लागि आवेदन गर्दा नेप्सेको कुल सेयर पुँजीको कम्तिमा पाँच प्रतिशत र बढीमा दश प्रतिशतसम्म हुने गरी प्रस्ताव पेश गर्नुपर्नेछ । सेयर दशमलवमा (खण्डित रुपमा) आउने गरी आवेदन गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

सेयरको न्यूनतम मूल्य प्रतिशेयर १ हजार ३२ रुपैयाँ मात्र तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ ।

कुनै एक कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको कूल शेयर पूँजीको १० प्रतिशत भन्दा बढी अंश ग्रहण गर्न नपाउने व्यवस्था धितोपत्र बजार संचालन नियमावलीमा छ ।

हाल नेप्सेमा राष्ट्र बैंकको करिब ३५ प्रतिशत लगानी छ । नियम अनुसार उक्त सेयर खरिदका लागि कम्तीमा पनि ४ वटा संगठित संस्था आवश्यक पर्छ । हाल नेप्सेमा करिब ५८ प्रतिशत सेयर नेपाल सरकारको, ३५ प्रतिशत राष्ट्र बैंकको, ६.१२ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र बाँकी सेयर धितोपत्र ब्रोकरहरुको छ ।

विगतमा सरकारी लगानी कम गरी निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले अन्य संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने व्यवस्था राष्ट्र बैंक ऐनमा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here