हिमालयन हाइड्रोपावरको असार १५ गतेदेखि आइपीओ खुल्ने

काठमाडौं, ७ असार । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ६८ हजार २५० कित्ता साधारण आइपीओ जारी गर्ने भएको हो ।

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत (३९ हजार ३६५ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (९८ हजार ४१३ कित्ता) सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिने छन् ।

कम्पनीको आइपीओमा असार १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर बी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here