बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय, सरकारसँग राख्यो ५ बुँदे माग

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उद्धार र नियमित उडानहरू बन्द गर्ने निर्णय गरेका हुन्।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

त्यसैगरी असार ५ गतेको नागरिक उड्डयन प्राधिकरणको बाहिर आएको अपरेटिङ वेससम्बन्धी प्रावधानहरु विमानसेवा कम्पनीहरुको हकमा खारेज गर्नुपर्ने, हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिभुवनलगायत विमानस्थलहरुबाट बिना अवरोध सेना यथावत् सञ्चालन गर्न पाउनुपर्ने माग संघले राखेको छ।

नियामक निकाय र सेवा प्रदायक संस्था नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भई रहेको कारण युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भइरहेकाले नेपाललाई युरोपियन हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार र प्राधिकरणबाट यथाशिघ्र पहल गरिनुपर्ने संघको माग छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here