क्षमा माग्दै बुद्ध एयरले भन्यो- सेवा बन्द गर्नु यथोचित निर्णय होइन, आगामी दिनमा यस्ता निर्णयमा संलग्न हुन्नौं’

काठमाडौं, ८ असार । बुद्ध एयरले आफ्नो छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ ले बुधबारका लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ ।

बुधबार सामाजिक सञ्जालमार्फत अत्यावश्यक सेवाअन्तर्गतको उडान बन्द गर्ने निर्णय यथोचित नभएको भन्दै क्षमा मागेको हो ।

बुद्ध एयरले लेखेको छ, ‘वायुसेवा कम्पनी, यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जनको थलो हो । हाम्रो आन्तरिक समस्या समाधान गर्नका लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन ।’

आन्तरिक उडानमा दुईवटा अमेरिकी बिचक्राफ्ट र १४ वटा युरोपियन एटीआर विमान गरी १६ वटा जहाज उडाउँदै आइरहेको बुद्धले मंगबलार संघसँग ऐक्यबद्धता जनाउँदै उडान बन्द गर्ने निर्णयमा साथ दिएकोमा आत्मालोचना गर्दै आगामी दिनमा उडान नै रोक्ने निर्णयमा सहभागी नहुने जनाएको छ । ‘आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछौं,’ बुद्धले भनेको छ ।

ल काठमाडौं विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाज छन् । यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुन्छ। धेरै अगाडिको अध्ययन र मूल्यांकनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजको क्षमता रहेको देखाइएको छ ।

यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवालाई त्यसभन्दा बढी जहाज काठमाडौं बाहिर रात्रि विसान गर्न निर्देशन दिएको हो। आजको परिस्थितिमा त्यस पार्किङ थलो सुधार भएको छ र अहिले १७ वटाभन्दा बढी जहाज रात्रि बिसान हुने अवस्था छ ।

नागरिक उड्डयन प्राधिकरणले सोही अनुरुप काठमाडौंमा रात्रि बिसान हुने जहाजहरुको संख्या बढाउने आश्वासन प्राप्त भएको छ । यसले नेपाली यात्रुलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुने बुद्धले भनेको छ ।

यसअघि वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको चेतावनी दिए पछिका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here