कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न काठमाडौं महानगरको आग्रह, नछुट्याउनेलाई प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना

काठमाडौं, ९ असार । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ ।

विहीवार महानगरवासीलाई सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो ।

नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५ सय रुपैयाँ जरिबाना हुने जनाएको छ ।

‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार ०७९ साल साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई विनम्र अनुरोध छ,’ सूचनामा भनिएको छ ।

जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी कुहिने फोहोर सङ्कलन गर्न आउने दिन कुहिने फोहोर मात्रै सङ्कलन गर्ने र नकुहिने फोहोर संकलन गर्न आउने दिन नकुहिने फोहोर मात्रै सङ्कलन गर्ने महानगरले सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।

यसअघि समाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेन शाहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here