नेपाल पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?

काठमाडौं, ९ असार । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीसहित २२ वटा कम्पनीहरुलाई कारवाही गरेको छ ।

समितिले समयमा लेखापरिक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी कूल २२ वटा कम्पनीलाई कारवाही गरेको हो ।

कारवाही पर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाईफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै ज्योति लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।

नेपाल पुनर्बीमा कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी पनि कारवाहीमा परेको छ । कारवाहीको दायरामा परेका २२ वटा कम्पनीमध्ये १० वटालाई १० हजार रुपैयाँ र १२ वटालाई १० हजार ५ सय रुपैयाँ नगद जरिवाना गरेको छ ।

समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/ ०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ ।

बीमा समितिले आज प्रकाशित गरेको बक्तव्यमा भनिएको छ, ‘बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी–जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो।’

त्यस्तै, अघिल्लो वर्ष सोही कारणले १० हजार रुपैयाँ जरिवाना गरिएका कम्पनीहरुले आर्थिक वर्ष २०७७//७८ मा समेत पुनः उल्लंघन गरेकोले थप ५०० रुपैयाँ जरिवाना गरिएको समितिले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here