काठमाडाैं, १ साउन । नेपाल वायुसेवा निगमले जिम्मा पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवालाई सप स्तरीय बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।
निगमले बुधबार एक पत्रकार सम्मेलन गरी भुमिस्थ सेवालाई गुणस्तरीय बनाउन उपकरणहरु खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो ।
जसअनुसार पहिलो चरणमा यात्रु तथा क्रु मेम्बर बोक्ने चार वटा र्याम्प बस खरिदको प्रक्रिया अगाडि बढाइएको बताइएको छ । यी बसहरु आएपछि बिजनेस क्लास र क्रुहरुले छुट्टै बसको सुविधा पाउनेछन् र अरु यात्रुहरुलाई पनि थप सुविधा हुने निगमको दाबी छ ।
यसै साताबाट विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरुको लागि नयाँ भिआईपी र्याम्प कोच संचालनमा ल्याउने पनि निगमकाे तयारी छ ।
पुराना उपकरण लिलामी गरेर ३२ लाख ६४ हजार ४४४ रुपैयाँ आम्दानी गरेको निगमले नयाँ प्रविधियुक्त टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फर्कलिफ्ट, ग्राउण्ड पावर युनिट आदि खरिद कार्य अगाडि बढाएकाे छ ।
त्यस्तै यात्रुहरुको व्यागेज ट्रयाकिङ्ग प्रणालीको स्तरोन्नति गरिएको र यसले यात्रुहरुको व्यागेज थप व्यवस्थित किसिमले ह्याण्डलिङ गर्न मद्दत पुगेको पनि निगमले बताएको छ ।
आन्तरिक उडानका यात्रुहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले निगमले आन्तरिक तर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत टिकट विक्री कक्ष खोलेको छ ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवालाई आएटाले सुरक्षित र गुणस्तरीय छ भनी आइएसएजिओ प्रमाण पत्र समेत प्रदान गरिसकेको निगमले बताएको छ ।




















