ग्लोबल आईएमई बैंकद्धारा कर्णाली प्रदेशका ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

काठमाडौं, १३ असार । ग्लोबल आईएमई बैंकले ‘ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ स्थित सानीलेख स्वास्थ्य चौकी, बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित गिरेगाडा स्वास्थ्य चौकी, डोटीको पूर्वीचौकी गाउँपालिका स्थित सानागाउँ स्वास्थ्यचौकी, दार्चुलाको महाकाली नगरपालिका–७ स्थित धाप स्वास्थ्य चौकी र दैलेखको नारायण नगरपालिका–५ स्थित त्रिवेणी स्वास्थ्यचौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरुले ७ सय ५७ जना महिलालाई स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रूपमा उपलब्ध गराएका थिए । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा बैंकले यी स्वास्थ्य शिविरहरु आयोजना गरेको होे ।

शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका १ जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका ६ जना बिरामी पहिचान गरिएका छन्, जसलाई स्वस्थ नारी पहल अभियान कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यसअघि बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको छ जसबाट देशका ग्रामीण तथा अर्धसहरी क्षेत्रका १ हजार ६ सय ६० महिलाहरु लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा बैंक पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २ सय ८८ शाखा, २ सय ५२ एटीएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सनबाट सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here