धान दिवस नारामै, ११ महिनामा भित्रियो २७ अर्बको चामल र १५ अर्बको धान

फाइल तस्बिर/रासस

काठमाडौं, १५ असार । असार १५ गते धान दिवस । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।

नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान मुलुकमा पछिल्लो ११ महिनामा २७ अर्बको चामल र १५ अर्बको धान आयात गरेको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो । तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।

हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यसबाट सरकारले रु दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

भारतबाट मात्रै रु २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ ।

त्यस्तै मुलुकमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै धानको बीउमात्रै रु ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ ।

विभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौँ रकम बाहिरिएको देखिन्छ । नेपालको हावापानी अनुकूल रहने मकैखेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौँ रकम विदेशिने गरेको हो ।

विभागको विवरणअनुसार चालु आवको जेठ मसान्तसम्म रु १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ । कूल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्यमात्रै रु १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार बराबर रहेको छ ।

यसैगरी सोही अवधिमा एक करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य रु एक अर्ब आठ करोड १० लाख २५ हजार बराबर छ । मकै तथा यसको बीउको आयातबाट सरकारले रु ९३ करोड ३० लाख २२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ । नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।

नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here