नेपाली राइडर दीपक साह बने ‘र्‍याली अफ चाम्बा’ विजेता

काठमाडौं, १५ असार । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । गत जुन १६ देखि १९ सम्म आयोजित सो प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए ।

रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर र्‍यालीमा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो स्थान हासिल गरेका हुन् । सो ¥याली अन्तर्गत पहिलो दिन चाम्बाको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भएको थियो । प्रतियोगितामा टु ह्विलरका साथै फोर ह्विलर गाडी समेत सहभागी थिए ।

दोस्रो दिन चाम्बाबाट लेग १ प्रारम्भ भएको हो । यो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दुरी थियो । त्यस्तै तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो ।

चौथो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । सबै गरी ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दुरी राइडरहरुले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दुरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दुरी १६७ किलोमिटर थियो ।

ग्रुप डी अन्तर्गत पनि उनी २५० सीसी भन्दा माथिको क्याटागोरीमा सहभागी भएका थिए । यस अनुसार उनी ग्रुप डी क्लास ११ अन्तर्गत सहभागी भएका थिए । यो समूहमा रोयल इन्फिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । सो रुटमा ग्राभेल, डर्ट, स्लस जस्ता हार्ड अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ ।

यसरी पहिलो स्थान हासिल गरेर उनले ट्रफी जितेका छन् । हिमाचल प्रदेशका मुख्यमन्त्री र विधायक लगायतले पुरस्कार वितरण गर्दा साहले ढाका टोपी र नेपाली झन्डा भएको टिसर्ट लगाएका थिए ।

दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमालयमा भाग लिएका थिए । यो विश्वकै सबैभन्दा उच्च स्थानमा हुने मोटर स्पोर्ट्स इभेन्ट हो । अर्को वर्ष २०१८ मा उनले रोयल इन्फिल्ड क्याटागोरीमा पहिलो स्थान हासिल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here