दोधारा चाँदनीका बादी समुदायको पीडा -‘च्यात्तिएको त्रिपाल मुनी छाक टार्नै मुस्किल’

पप्पु गुरुङ्ग

दोधारा, १६ असार । दोधारा चाँदनी नगरपालिकाको पश्चिम क्षेत्रमा बसोबास गर्ने बादी समुदायहरु घरबास नहुँदा समस्यामा परेका छन् ।

सरकारको आँखामा नपरेका दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादीहरु खाना र बस्नको नहुँदा समस्यामा परेका हुन् ।

दोधारा चाँदनी नगरपालिकामा नेपाल सरकारले गरिब तथा बिपन्न परिवारलाई भनेर आवास कार्यक्रम बितरण गर्दै आएपनि बडवाल टोलका बादीहरुलाई वास्ता नगर्दा एक वर्ष देखि घाम पानीबाट च्यात्तिएको त्रिपालको सहारामा वर्षायाममा दिनचर्या बिताउन बाध्य भएका छन् ।

गाँस र कपासको समस्या त, टाढै जाओस् बस्नका लागि वर्षायाममा च्यात्तिएको त्रिपाल मुनी रात काट्नु पर्ने हुँदा निकै समस्या हुने गरेको बडवाल टोलका बादी घरपरिवारका मुखिया वीरभाने बादीले बताए ।

एक गैरसरकारी संस्थाले दिएको त्रिपाललाई घाम पानीले च्याती दिएको हुदा आकाशबाट पानी परेपछि रातभरी सुत्न नपाईने बादी घरपरिवारका मुखिया बिरभाने बादीले दुखेसो पोखे ।

‘एक वर्ष अघि मात्रै संस्थाहरुले दिएको त्रिपाल घाम पानीले च्यात्तिएको हुँदा आकाशको पानी आएको बेला निकै बिचल्ली मचिन्छ’ वीरभाने बादीले भने– ‘छानो बनाएको त्रिपाल च्यातिएकोले रातीको समयमा नानीहरुलाई आकाशको पानीबाट जोगाउनै रात बित्छ् ।’

राम्रो बासस्थान नभएको कारण अहिलेको वर्षात कसरी काट्ने हो भन्ने उनिहरुमा चिन्ता छाएको छ् । ‘सिजनमा माछा मार्ने, मादल मोर्ने र सिजन नहुदा अर्काको मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गर्छौ’ सीता बादीले भने ।

श्रीमान भारत गएर ज्याली मजुरी गर्दै आएका सपना बादी केही दिन बिरामी पर्दै आएकी छिन् । उनको अनुहार भरी स–साना खटिरा जस्तो घाउ आएको कारण आँखा रातो हुने, अनुहारमा निकै समस्या खेप्दै आएको सपना बादीले बताइन् ।

उनका श्रीमान रेशम बादी भारतबाट ज्याला मजुरी गरेको पैसाले उपचार गर्नमै ठिक्क भएको कारण घरमा खानाको निकै समस्या पर्दै आएको उनको पीडा छ् ।

सपना बादी पनि त्रिपालले छाएको घरमा एक वर्ष देखि दिन काट्दै आएका छन् । च्यातिएको त्रिपालले वर्षा भएको बेला थेग्न नसक्दा कयौं रात अनिदो बिताउनु परेको उनले बताएका छन् ।

‘वर्षाको समयमा पानी धरधरी चुहिन्छ् । पानी पर्दा रातभर सुत्न पाईदैन । कपडाहरु पूरै भिजेका हुन्छन् । हावाहुरीले बारम्बार त्रिपाल फाल्छ, कहिले काहीं भागा भाग हुन्छ्’ सपना बादीले भनिन् ।

देशमा संघियता आएको भएपनि दोधारा चाँदनीका बादी घरपरिवारको दैनिकी कष्टकर जीवन बित्दै आएको छ् ।

बादी घरपरिवारलाई एक छाक खानाको निकै समस्याले पिरल्दै आएको अवस्थामा बासको मात्र सरकारले व्यवस्था मिलाई दिएमा आफुहरुलाई ठुलो सहयोग हुने उनिहरु बताउँछन् ।

बडवाल टोलमा ५ घरधुरी बादी घरपरिवारहरु बसोबास गर्दै आएका छन् । सबै बादीहरुको लागि आवासको निकै ठूलो समस्या भएको देखिन्छ् ।

अन्य जातीको भन्दा बादी जातीलाई राज्यले अपहेलित गरेको उनिहरुको बुझाई छ् । आफुहरु सरकारी तथ्यांकमा नपरेको र राज्यले नचिनेको उनिहरुको दुखेसो छ ।

देशकै सानो समुदायकोरुपमा रहेको बादी समुदायको संरक्षण गर्दै उनिहरुको जिवन शैली परिवर्तन गर्न सहयोग गर्नु राज्य पक्षको प्रमुख दायित्व हो ।

सरकारले आफ्नो जनताहरुको गाँस, बाँस, कपास संगै शिक्षाको ग्यारेन्टी लिन पछि हट्नु हुँदैन् । एक वर्ष देखि बडवाल टोलमा खाना र बस्नको अभावमा पिल्सीरहेका बादी घरपरिवारलाई स्थानिय सरकार र यहाँ क्रियाशिल गैरसरकारी संघ संस्थाको ध्यान किन नगएको हो ? कहाँ गए गैरसरकारी संस्था र मानवअधिकारी बादी संस्था ? सबैले समयमै गम्भिर हुन आवश्यक छ् ।

गाँस, बाँस र कपासमा पिल्सीदै आएका बडवाल टोलको बादी घरपरिवार जस्ता गरिब तथा बिपन्न बर्गको आधारभुत आवश्यकता मात्रै पुरा गर्न सके पनि समृद्धि आउने हो । कागजमा मात्रै सृमिद्ध र बिकास लेखेर समृद्धि आउनेवाला छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here