काठमाडौं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा निजगढ पुगेका छन्।
अवलोकनमा प्रधानमन्त्री देउवा सहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी सहभागी भएका छन् ।
टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कमभन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णयमा सर्वोच्च अदालतको पछिल्लो आदेशले केही अन्योलता देखिएको छ ।
आदेशको पूर्णपाठमा उल्लेखित बहुमतको रायले निजगढमा नै विमानस्थल निर्माण गर्न रोक लगाएको छैन तर, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा पर्यावरणसम्बन्धी मापदण्डलाई अनिवार्य पालना गर्न आदेश दिएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो। त्यहाँ पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रूख गणना लगायत काम भएको थियो।
ठूला, साना र मझौला गरी झन्डै २४ लाख रूख कटान र १४ सय घरधुरीको स्थानान्तरण गर्नुपर्ने देखिएको पर्यटन मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख गरिएको छ।
गत जेठ १२ मा सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय बदर गरिदिएको थियो।