निजगढबाट शीर्ष नेताको सन्देश : विमानस्थल जसरी पनि बन्छ

१८ असार, काठमाडौं । निजगढ विमानस्थलमा वातावरण की विकास भन्ने बहस अन्ततः टुंगिएको छ । सर्वोच्च अदालतले वातावरणको कम क्षति गर्दै सोही स्थानमा विमानस्थल बनाउन सकिने विकल्प खुला गरेसँगै सरकार यो आयोजनालाई पुनः अगाडी बढाउन तम्सिएको छ ।

यसैको पहिलो पाइलास्वरुप प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरु शनिबार निजगढ विमानस्थल पुगे । उनीहरुले एक स्वरमा विमानस्थल सोही स्थानमा बनाउने प्रतिवद्धता मात्र गरेनन, त्यसका लागि ठोस कदम चाल्ने समेत बताए । यसले अन्ततः नेपालको अर्थतन्त्रमा गेमचेन्जर परियोजनाका रुपमा रहेको निजगढले गति लिने अपेक्षा गर्न सकिन्छ ।

शनिबार प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्दका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेता निजगढ पुगे । कार्यक्रम स्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले निजगढमा दुई वटा धावनमार्गसहितको विमानस्थल बनाउने बताए ।

उनको भनाईमा प्रचण्डले समर्थन गरे । माधव कुमार नेपालले सर्वोच्चको फैसलासँग तर्सनु पर्ने कुनै कारण नरहेको बताए । सर्वोच्चको फैसला अनुसार सरकारले यस विमानस्थलका लागि तयारीका काम भने पुनः गर्नुपर्ने भएको छ । जसमा मूख्य काम वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन बनाउनु हो ।

यो विमानस्थलको मोडालिटी निर्माणको काम अहिले राष्ट्रिय योजना आयोगबाट भइरहेको छ । कुन मोडालिटीमा बनाउने टुंगो लागेसँगै सम्भतः सरकारले यसै वर्ष विमानस्थल निर्माणको घोषणा गर्न सक्छ । सरकारले विमानस्थलका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here