पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहोर

काठमाडौं, १९ असार । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो ।

गाडाबाट पैदलमार्ग फोहोर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहोर थुपार्न बाध्य भएको बताउँछन् ।

फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहोर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका रामचन्द्र श्रेष्ठ बताउँछन् ।

राजधानीको अन्य भागमा फोहोर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहोर थुपार्ने गरेको उनले बताए । महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here