आकर्षण र लालधनुषले शून्य लागतमा नेपाली कामदार मलेसिया लैजाने

काठमाडौं, २१ असार । दुई मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनले शून्य लागतमा नेपाली कामदार मलेसिया लैजाने भएका छन् ।

मलेसियाको विष्ट्रन टेक्नोलोजी र ती दुई कम्पनीवीच मंगलबार काठमाडौंमा शून्य लागतमा कामदार लैजाने द्विपक्षीय सम्झौता भएको छ ।

मलेसियामा रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी विष्ट्रनले आफनो कम्पनीमा लैजाने कामदरले कुनै पनि लागत नपर्ने गरी लैजानका लागि नेपालका दुई मेनपावरसँग मंगलबार सम्झौता गरेको हो ।

सम्झौतापत्रमा विष्ट्रनका डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।

सो सम्झौताअनुसार विष्ट्रन टेक्नोलोजीमा जाने नेपाली श्रमिकले यी दुई मेनपावर कम्पनीमार्फत विना कुनै शुल्क मलेसिया जान पाउनेछन् ।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा ४ सय ५० श्रमिक लैजाने जनाएको छ । आकर्षणबाट १ सय ४० महिला र ६० पुरुष तथा लालधनुषबाट १ सय ७५ महिला र ७५ पुरुष श्रमिक मलेसिया जान पाउने छन ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विस्ट्रनका डेपुटी जनरल म्यानेजर डेभिडले बताए । नेपाली र मलेसियाली श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद नहुने उनको भनाइ छ ।

रेस्पोन्सिबल विजिनेश एलाइन्स (आरबीए)मा आवद्ध विस्ट्रन कम्पनीको चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेको छ ।

यो कम्पनीमा विभिन्न देशमा गरी झन्डै ८० हजार श्रमिक कार्यरत रहेको उसले जानकारी दिएको छ । श्रमिकको बसोवासका लागि आफ्नै अपार्टमेन्टसमेत रहेको छ । नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै रोजेको डेभिडको भनाई छ ।

यो कम्पनीमा नेपाली श्रमिकले न्यूनतम १ हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन् । त्यसका साथै भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ । यसअनुसार कामदारले कम्तिमा २ हजार ४ सय २१ र अधिकतम ३ हजार २ सय २३ मलेसियन रिङ्गेटसम्म पाउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here