सडकमा लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाडौं, २४ असार । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारीचालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ।

दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताप्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए ।

“सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं । उनले भने ।

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक रु.पाँचसय, दोस्रो पटक रू. एक हजार र तेस्रो पटक पछि रू. एक हजार पाँच सय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।

यस आ.व. मा १२,८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिईसकेको छ ।

ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेनअनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ ।

सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको छ ।

लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here