चेम्बरको आयोजनामा महिला उद्यमशीलता विकासका लागि सशक्तीकरण कार्यक्रम शुरू

काठमाडौं, २४ असार । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम शुरू गरेको छ ।

उद्यमशीलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।

पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो ।

छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरूलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ । तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताए ।

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरू शुरु भइसकेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ लिन पनि महिलाहरूलाई आग्रह गरे ।

महिलाहरूद्वारा उत्पादित वस्तुहरूको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘महिला दिदीबहिनीले उत्पादन गरेका वस्तुहरू उत्पादन स्थलदेखि बजारीकरण सम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य वस्तुहरूको प्रशोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ, ।’

आर्थिक क्षेत्रमा महिलाहरूको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्न समेत उल्लेख्य योगदान रहेको बताए । उनले अपाङ्गता भएका महिलालाई उद्यमशिलता विकासको तालिममा सहभागी गराउनुपर्ने बताए ।

चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरूको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपुर्ण हुने श्रेष्ठको भनाइ छ । महिलाहरूलाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताइन् ।

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरूलाई कम्तिमा १५ दिनको तालिम दिइने बताइन् । महिलाको आर्थिक सशक्तीकरण गर्नका लागि विभिन्न सीप मुलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here