सरकारी लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च ४६ प्रतिशत

काठमाडौं, २६ असार । चालू आर्थिक वर्ष सकिन अब ७ दिन बाँकी छ । सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको राजस्व असुली भएको छ ।

चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ८६.७५ प्रतिशत हो । त्यसमा कर राजस्व कुल ९ खर्ब २६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर संकलन भएको छ ।

त्यस्तै गैरराजस्व १ खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ७४ अर्ब १९ करोड ७१ लाख बराबर संकलन भएको छ । यो कुल लक्ष्यको ६५ .८७ प्रतिशत बराबर हो ।

चालू आर्थिक वर्षमा कुल ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै संकलन हुने सरकारको विश्वास छ ।

त्यस्तै, सरकारको खर्चतर्फ कुल लक्ष्यको ७४ दशमलव ३३ प्रतिशत बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ । चालु आर्थिक वर्षको कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।

त्यसमध्ये अहिलेसम्म १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबर खर्च भएको छ । त्यसमा चालु खर्चतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा ९ खर्ब ३८ अर्ब २० लाख बराबर खर्च भएको छ । यो भनेको कुल लक्ष्यको ८८.०५ प्रतिशत बराबर हो ।

यस्तै, पूँजीगत खर्च कुल लक्ष्यको ४६.२२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पूँजीगत खर्चमा उल्लेख्य बढोत्तरी हुन नसकेको देखिन्छ ।

सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बराबरको पूँजीगत खर्च गर्ने लक्ष्य राखेकामा अहिलेसम्म १ खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here