रसुवागढी हाइड्रोपावरको आइपीओ भर्ने म्याद साउन १० गतेसम्म थप

काठमाडौं, २७ असार । रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने म्याद थप भएको छ ।

कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित रसुवाबासीका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद साउन १० गतेसम्म थप गरिएको हो ।

कम्पनीले रसुवाबासीका लागि प्रतिकित्ता १०० अंकित दरमा ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

निष्काशित भएको उक्त सेयरमध्ये आयोजना अतिप्रभावित गोसाइँकुण्ड गाउँपालिका–१ र २, प्रभावित आमाछोदिङ्मो गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ र सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोबास गर्ने जिल्लावासीमा ४.५ः १.५ः १ का दरले सेयर बाँडफाँड गरिने आह्वानपत्रमा उल्लेख छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्ताका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस्तै, सह निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका हुँदै बहने भोटेकोसी नदीमा १११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here