निक्षेपभन्दा कर्जाको वृद्धिदर दोब्बर बढी, घरजग्गा धितोमा मात्रै ६६ प्रतिशत ऋण

काठमाडौं, २८ असार । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको हो ।

पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर दोब्बरभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तसम्ममा निक्षेप ५.७ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने १३.५ प्रतिशतले बढेको छ ।

यद्पि यो वृद्धिदर भने अघिल्लो वर्ष (२०७८ जेठसम्म) को तुलनामा कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको हो । त्यस्तै, अघिल्लो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जा भने २४.९ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.३ प्रतिशत र ४८.५ प्रतिशत रहेको थियो ।

त्यस्तै, २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.५७ प्रतिशत रहेको छ । २०७८ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४१.२२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ ।

२०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ । त्यस्तै, १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here