ब्याटिङमा कमजोर हुँदा नेपाल नामिबियासँग ४० रनले पराजित

काठमाडौं, २८ असार । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

ब्याटिङमा फेरि कमजोर प्रदर्शन हुँदा नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए। देव खनालले ३४, कुशल भुर्तेलले २७, करन केसीले १९, आसिफ शेखले १७ तथा सोमपाल कामी र मोहम्मद आदिल खानले समान १० रन बनाए।

रोहित पौडेलले खाता खोल्न सकेनन् भने दीपेन्द्र सिंह ऐरी ४ रन जोडेर आउट भए। ३० रन जोड्दा पहिलो विकेट गुमाएको नेपाली टोली ५८-४ को स्थितीमा पुगेको थियो। त्यसपछि देव खनाल र आरिफ शेखले पाचौँ विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए।

नामिबियाका लागि डेभिड विजा, बर्नार्ड स्कोल्ट्स र जान फ्रांकलिनले २-२ विकेट लिए ।

यस जितपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । १७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।

त्यसअघि कम्बुसडुन न्यु ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबयाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनमा अलआउट भएको थियो । उसका लागि जान निकोल लाफ्टी एटनले सर्वाधिक ६० रन बनाए । डिभान ला कुकुले ४१ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ५४ रन खर्चिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here