हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँड, १४ लाख बढीको हात खाली

काठमाडौं । हिमालयन हाइड्रोपावरको प्राथमिक साधरण शेयर (आइपीओ)बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहान साढे ८ बजे आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी २ जनाले थप १ कित्ता सेयर पाएका छन् । १४ लाख १० हजार ७४९ जनाकाे भने हात रित्तो भएको छ ।

कम्पनीले गत असार १५ गतेदेखि असार १९ गतेसम्म आइपीओ बिक्री गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ जारी गरेको थियो।

पहिलो चरणमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेकोमा २ लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता पनि जोडिएको थियो।

कुल कित्तामध्ये ३९ हजार ३६५ कित्ता (२ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ। बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। जसमा १५ लाख ९३ हजार ७९६ जनाले आवेदन दिएका थिए ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र हिमालयन हाइड्रोपावर कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here