दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं, २८ असार । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन उच्च अंकले घटेको बजार दोस्रोदिन भने दोहोरो अंकको सुधार आएको हो ।

मंगलवारशेयर बजार मापक सूचक नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ उपसमूहहरू हरियो भएको छ । होटल समूह सबैभन्दा धेरै १.६८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, हाइड्रोपावर, उत्पादनमूलक र व्यपार समूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

सप्तकोसी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ भने एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको ८.२२ प्रतिशतले बढेको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्ड ६.२७, अरुण काबेली ५.८५, बलेफी हाइड्रोपावर ५.७१, सेन्टर फाइनान्स, ग्रामीण विकास लघुवित्त, सनराइज ब्लूचिप फण्ड, मिथिला लघुवित्त, सिभिल लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेका अनुसार नयाँ सारथी लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, गोर्खा फाइनान्स साढे ७ करोड र शिवम् सिमेन्टको ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here