चालू आर्थिक वर्ष दुई दिन बाँकी: राजश्व संकलन १० खर्ब ३५ अर्ब, पूँजीगत खर्च ५४ प्रतिशत

काठमाडौं, ३१ असार । चालू आर्थिक वर्ष सकिन अब २ दिन बाँकी छ । सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार उक्त अवधिमा कार्यालयका अनुसार सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व संकलन गरेको छ। यो कूल लक्ष्यको ८७.७ प्रतिशत बराबर हो।

कार्यालयका अनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजश्व संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म नौ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख बराबरको संकलन गरिएको छ। यो कूल लक्ष्यको ८९.६५ प्रतिशत बराबर हो।

त्यस्तै गैरकर राजश्वतर्फ एक खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७७ अर्ब १९ करोड सात लाख बराबर संकलन भएको छ। यो कूल लक्ष्यको ६९.२३ प्रतिशत बराबर हो।

वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त हुने लक्ष्य राखेकामा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३.१७ प्रतिशत बराबर प्राप्त भएको छ। चालु आव सकिन दुई दिन बाँकी छ। यसबीचमा कर तथा गैरकर राजश्व थप केही बढ्न सक्छ। सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा कूल लक्ष्यको ८८.४१ प्रतिशत बराबर रहेको कार्यालयको विवरणले जनाएको छ।

कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७८.२२ प्रतिशत बराबरको खर्च गरेको छ। चालु आवमा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये हालसम्म १२ खर्ब ७७ अर्ब २० करोड बराबर खर्च गरेको छ। त्यसमा चालु खर्चको मात्रा बढी छ। चालु आवमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो। त्यसमध्ये नौ खर्ब ६१ अर्ब ४८ करोड २६ लाख बराबर खर्च भएको छ। यो कूल लक्ष्यको ९०.२६ प्रतिशत हो।

यसैगरी विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि दुई खर्ब माथि पुगेको छ। सरकारले पूँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये हालसम्म दुई खर्ब छ अर्ब ३६ करोड ९७ लाख बराबर खर्च भएको छ। यो कूल विनियोजनको ५४.५८ प्रतिशत बराबर हो।

यस्तै वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको मध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको बजेट खर्च भएको छ। सरकारले एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो।

त्यसमध्ये हालसम्म एक खर्ब नौ अर्ब ३४ करोड ७७ लाख बराबरको रकम उपलब्ध गराइसकेको छ। सरकारले लिएका विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि वित्तीय व्यवस्थामार्फत बजेट नै विनियोजन गर्ने गरेको छ। कूल लक्ष्यमध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको ऋणको भुक्तानी गरेको छ।

सरकारले गत जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेको थियो।

कूल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको थियो।

कोभिड–१९ महामारीको विषम परिस्थितिबीच हालसम्मको राजश्व संकलन अवस्था सन्तोषजनक रहेको भन्दै सरकारले चालु आर्थिक वर्षमा राजश्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरेको थियो।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो। चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here