पूर्वाधार विकास बैंकलाई सञ्चालन बाटो खुला, पूर्वाधार निर्माण आयोजनामा लगानी गरिने

क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । अब पुर्वाधार विकास बैक सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट बैंकबाटले सञ्चालन अनुमति दिने निर्णय गरेपछि पूर्वाधार विकास बैंकलाई स्थापनाको बाटो खुलेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बिहीबार बैंकलाई सञ्चालन अनुमति दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट अनुमति पाएको छ महिनाभित्र सञ्चालनमा आइसक्नुपर्नेछ । २० अर्ब रुपैयाँ चुक्ता पुँजीसहित स्थापना हुन लागेको यो बैंकले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक सहमति पाएको थियो । बैंकको अधिकांश काम पूरा भइसकेकाले छिट्टै सञ्चालनमा आउने बैंक स्रोतले जनाएको छ ।

यो बैंक सञ्चालनमा आएपछि पूर्वाधार विकासलाई लक्षित गरी खुलेको पहिलो बैंक हुनेछ । औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी गर्ने उद्देश्यले विगतमा नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) विकास बैंक स्थापना गरिएको थियो । त्यो संस्थाले अपेक्षित रूपमा काम गर्न सकेन । हाल उक्त बैंकलाई राष्ट्र वाणिज्य बैंकमा गाभिएको छ । यसकारण छुट्टै पूर्वाधार विकास बैंक स्थापना गर्ने नीति सरकारले ल्याएको हो ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र डेपुटी प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे छन् । पूर्वाधार विकास बैंकको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । स्थानीय लगानी मात्रै रहेर यस्तो बैंक स्थापना भएमा संस्थापक समूहले न्यूनतम ५१ प्रतिशतदेखि ७० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यस्तो अवस्था उक्त कम्पनीले सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत र आफ्ना कर्मचारीलाई न्यूनतम ०.२ प्रतिशतसम्म सेयर छुटयाउनुपर्ने कानुनी व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here