तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु, तापक्रम ४५ डिग्री सेल्सियस पुग्याे

Photo : NBC news

म्याड्रिड । स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाका कारण ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ ।

यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसको ज्यान जाने क्रम पनि रोकिएको छैन ।

यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ सम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here