नागरिकता विधेयकमा ५४ सांसदका ३१ संशोधन प्रस्ताव दर्ता

फाइलफोटो

काठमाडौं, ४ साउन । सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरे पछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नागरिकता विधेयकमाथि संशोधन दर्ता गराउनेमा ३३ सांसद प्रमुख प्रतिपक्षी एमालेका छन् । एमालेका अधिकांश सांसदहरूले एकल संशोधन दर्ता गराएका छन् भने केहीले समूहमा मिलेर विधेयकका व्यवस्था संशोधन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्ष पछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरेका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षअघि नै विधेयकमाथि दफावार छलफल गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको भए पनि हालै सरकारले सो विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको हो । सो विधेयकमा दलहरुबीच पूर्ण सहमति नभए पनि समितिले विदेशी महिलालाई नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने संशोधन राख्ने विषय बहुमतले निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here