काठमाडौं । नेटफ्लिक्सले दुई महिनामा १० लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीको अवस्था सार्वजनिक गर्ने क्रममा दुई महिनामा १० लाख ग्राहकले नेटफ्लिक्सले छाडेको बताएको हो ।
कम्पनीले आउँदा महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । दस वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो ।
नेटफ्लिक्सको सेवा नवीकरण नगर्ने ग्राहकहरूमा अमेरिका र क्यानडा र युरोपका प्रयोगकर्ता बढी छन्।
नेटफ्लिक्सले मनोरञ्जनको माध्यममा परिवर्तन गरेको थियो। त्यसैको कारण लामो समय वर्चश्व कायम राख्न सफल पनि भयो। सन् २०२० मा कोरोना महामारीका कारण मानिसहरू घरभित्रै रहँदा प्रयोगकर्ता बढेका पनि थिए।
महामारीकै समयमा नेटफ्लिक्सबाट ‘स्कविड गेम’ र ‘द क्राउन’ प्रसारण भएका थिए। कम्पनीले यसमा रुसको तथ्यांक समावेश नगरिएको जनाएको छ ।
सबै अनुमान विपरित कम्पनीले ग्राहक गुमाएको हो । नेटफ्लिक्सले प्रतिस्पर्धा बढ्नु र पासवर्ड बाँडीचुँडी हेर्न मिल्ने व्यवस्थालाई ग्राहक घट्ने मुख्य कारण मानेको छ ।
कम्पनीले ग्राहक लोभ्याउने अन्तिम हतियार नै कन्टेन्ट भएको बताउँदै यो सालका १८ अर्ब डलर फिल्म तथा सिरिजमा खर्चमा गर्ने लक्ष्य लिएको छ ।
नेटफ्लिक्ससँग हाल विश्वभरबाट २ सय २० मिलियन ग्राहक छन्। त्यसबाट उसले अप्रिलदेखि जुनसम्मको त्रैमासिकमा ७.९ अर्ब अमेरिकी डलर आर्जन गरेको छ। यसअघि उसको आम्दानी यति समयमा दश अर्ब डलर हुन्थ्यो।