‘बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन, सीसीटीभी फुटेज क्षमता कति हुन्छ मन्त्री जानकारी हुँदैन’

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी गरेका छन् ।

संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै उनले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरे ।

समितिले यसअघि मन्त्रालयका अधिकारी तथा कर्मचारीहरुसँग पनि सोछपुछ गरिसकेको छ । तर, उनीहरुले शर्माविरुद्ध बयान दिएका छैनन् ।

भित्रबाहिर गर्दा त्यहाँ सुरक्षाकर्मी रहने हुँदा बाहिरको मान्छेले सहजै प्रवेश नपाउने बताएका छन् ।

‘बाहिरको मान्छे पस्ने सम्भावना नै छैन,’ उनले भने, ‘सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन ।’ उनले भने ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरू नष्ट गरेको शर्मामाथि आरोप छ। समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हराएको प्रकरणबारे पनि छानबिन गरिरहेको छ। समितिलाई १० दिनमा छानबिन गरेर प्रतिवेदन पेस गर्न भनिएको छ।

तर, समितिले म्याद थप गर्ने तयारी गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समयमा अब दुई दिन मात्रै बाँकी छ।