काठमाडौं, ५ साउन । बजेट निर्माणमा अनाधिकृत व्यक्ति छिरेको भन्दै विपक्षी एमालेले संसदमा आवाज उठाएपछि गठन भएको संसदीय छानविन विशेष समितिको समय ७ दिन थप भएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी सापकोटाले समय थप गर्ने प्रस्ताव गरेका थिए । यसलाई सदनले सर्वसम्मत स्वीकृति दिएको हो ।
यसअघि यो समितिको अवधि १० दिनको थियो । यसबीचमा समितिले आरोप लागेअनुसार पुष्टी गर्ने कुनै प्रमाण भने फेला पारिसकेको छैन । समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार नै बयान लिएको छ ।
यसअघि मन्त्रालयका अधिकारी, प्राविधिक र अन्य सरोकारवालासँग समेत समितिले बयान लिइसकेको छ । सबैले इन्कार बयान दिएका छन् । उता, अर्थ मन्त्रालयको सिसिटीभी क्यामराको फुटेज रिकोभर गर्ने जिम्मा भने नेपाल प्रहरीलाई दिएको छ ।