१ वर्षमा स्वदेशी लगानीका ३०९ उद्योग दर्ता, धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रमा

फाइलफोटो

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा साढे तीन खर्ब बढीको स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा तीन खर्ब ४३ अर्ब ५५ करोड ९१ लाख ५० हजार बढीका ३०९ वटा उद्योग दर्ता भएका हुन् ।

एक वर्षको अवधिमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रका उद्योगमा आएको छ ।

ऊर्जामूलक क्षेत्रका ५० वटा उद्योगमा १ खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

यस्तै, ऊर्जापछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएका छन् । एक वर्षको अवधिमा ११५ सेवामूलक क्षेत्रका उद्योग दर्ता हुँदा रु ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।

पर्यटन क्षेत्रका ५८ उद्योगमा रु २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि रु ४६ अर्ब ७५ करोड ५८ लाख, कृषि क्षेत्रमा २१ उद्योगका लागि रु पाँच अर्ब २८ करोड ९० लाख ९९ हजार लगानी प्रस्ताव आएको छ ।

त्यसैगरी, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि र एक अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका पाँच उद्योगका लागि रु दुई अर्ब २७ करोड ९१ लाख र दुईवटा खनिज उद्योगका लागि रु २५ करोड ९९ लाख बराबरको लगानी प्रतिबद्धता आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here