स्थानीय तह निर्वाचनको खर्च : प्रतिमतदाता २८४ रुपैयाँ

१० साउन, काठमाडौं । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको पाइएको छ । यो निर्वाचन आयोगको मात्र खर्च हो । जसमा सुरक्षा निकायको खर्च जोडिएको छैन ।

निर्वाचन आयोगले कुल खर्चलाई मतदाताको संख्याले भाग गरेर निकाल्दा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको बताएको हो । राजनीतिक दल र उम्मेदवारको व्यक्तिगत खर्च समेत यसमा समावेश छैन । प्रतिमतदाता खर्चको हिसाबले यो स्थानीय तह निर्वाचन २०६४ सालयताको कम खर्चिलो बनेको छ ।

स्थानीय तह निर्वाचनमा आयोगले पाँच अर्ब चार करोड रुपैयाँ खर्च गरेको छ । चुनावमा एक करोड ७७ लाख मतदातामध्ये एक करोड २५ लाखले मात्र मतदान गरेका थिए । स्थानीय निर्वाचनमा हरेक मतदान केन्द्रमा दुई लाख २९ हजार रुपैयाँ खर्च भएको छ ।

आयोगको विवरण अनुसार, स्थानीय तह निर्वाचनमा भएको खर्च २०७० सालको संविधानसभा निर्वाचन, २०७४ सालको स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन भन्दा मितव्ययी हो ।

आयोगले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पाँच अर्ब ९८ करोड रुपैंया खर्च भएको जनाएको छ । त्यतिबेला प्रति मतदाता ४९३ रुपैयाँ खर्च भएको थियो । प्रति मतदान केन्द्रमा ३ लाख १८ हजार रुपैयाँ खर्च भएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख रुपैयाँ खर्च भएको थियो । त्यतिबेला प्रतिमतदाता ५०९ रुपैयाँ खर्च भएको थियो । एउटा मतदान केन्द्रमा तीन लाख ९३ हजार रुपैयाँको अनुपातमा खर्च भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here