म्याद सकिन ४ दिन बाँकी हुँदा नारायणघाट–बुटवल सडकको प्रगति १८ प्रतिशत मात्र

काठमाडौं, ११ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक स्तारोन्नतिको प्रगति १८.४४ प्रतिशत मात्र रहेको छ ।

सन् २०१९ फेब्रुअरी ७ मा सडक स्तरोन्नतिको कार्य शुरु भएको सो सडकखण्डको काम सन् २०२२ अगस्त १ अर्थात आगामी सोमबारसम्म सम्पन्न गर्नु पर्ने थियो । तर सो म्यादको मात्र चार दिन बाँकी हुँदा सडक स्तरोन्नतिको काम मात्र १८.४४ प्रतिशतमा सीमित भएको हो ।

मुलुककै प्रमुख सडक तथा व्यापारिक मार्ग मानिएको सो राजमार्गको दुरावस्थाको अध्ययनपछि संघीय संसदको विकास तथा प्रविधि समितिले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलपछि सरकारलाई सो स्तरोन्नतिको कार्य समयमै सम्पन्न हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

निर्देशनमा उसले परियोजनाको लागत नबढने गरी काम सम्पन्न गर्न पनि भनेको छ । परियोजना समयमै सम्पन्न नगरी ठेक्का नै रद्द गर्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण रहेको पनि उसको भनाइ छ ।

सडक स्तरोन्नतिको कार्य चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडलाई दिइएको थियो । शहरी क्षेत्रमा चार लेनको सडक र सर्भिस लेन, ग्रामिण क्षेत्रमा चार लेनको सडक र दाउन्नेमा तीन लेनको सडक बनाउने गरी सरकारले सो ठेक्का चाइना स्टेटलाई दिएको थियो ।

यद्यपि संसदीय समितिले दिएको निर्देशन सरकारका लागि भने फलामको च्युरा चपाउनुसरह हुनेछ । किनकि बाँकी कामको व्यवस्थापनका लागि एक वर्षभन्दा बढी समय लाग्ने अवस्था छ जसका कारण अहिले निर्माण सामग्री महँगिएको अवस्थामा पहिले ठेक्का लगाएको लागतमा सो परियोजना सम्पन्न हुन मुश्किल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here