एङ्गोलामा भेटियो ठूलो गुलाबी हीरा,के हुन् यसका विशेषता

एजेन्सी । मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हीरा फेला परेको छ । ३४ ग्राम तौल रहेको यो हीरा विगत ३०० वर्षमा भेटिएको त्यस खालको सबैभन्दा ठूलो हीरा भएको बताइएको छ ।

लुलोस्थित खानीमा फेला परेको १७० क्यारटको यो हीरालाई लुलो रोज नाम दिइएको छ । यसअघि १८५ क्यारटको दरिया–ए–नूर फेला परेको थियो। त्यसपछि भेटिएको यो नै सबैभन्दा ठूलो हीरा भएको ठानिएको छ । दरिया–ए–नूर एउटा ठूलो पत्थरबाट काटेर निकालिएको थियो। उक्त हीरा इरानी राजमुकुटमा भएका रत्नमध्ये पर्छ ।

लुलो रोज टूए वर्गको हीरा हो। यस वर्गको हीरामा अशुद्धता हुँदैन वा निकै कम हुन्छ । यो उक्त खानीमा फेला परेको पाँचौँ ठूलो हीरा हो । यो खानी अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनी र एङ्गोला सरकारले संयुक्त रूपमा सञ्चालन गरेका छन् ।

यस प्रकारका हीरा यसअघि दशौँ लाख डलरमा विक्री भएका थिए । सन् २०१७ मा पिङ्क स्टार नामक एउटा हीरा हङ्कङमा लिलाम बढाबढ हुँदा सात करोड १२ लाख अमेरिकी डलरमा विक्री भएको थियो ।

तर रत्न विशेषज्ञ जोआना हार्डी लुलो रोज नकाटिएसम्म कति मूल्यमा विक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताउँछिन् । गुलाबी हीराहरू अत्यन्तै दुर्लभ हुन्। तर यही विशेषताका कारण यसलाई आकार वा बुट्टामा ढाल्न कठिन हुने गरेको छ । बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here