नागपञ्चमी: किन गरिन्छ नागको पूजा ? यी हुन् दुई प्रचलित कथा

काठमाडौं । आज नागपञ्चमी । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ ।

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको ज्योतिषीय गणनामा सबै चाडपर्व चन्द्रमाको गतिअनुसार गणना हुन्छन् ।

त्यसकारण हरेक वर्षको साउन महिनाको शुक्लपक्षमा पर्ने पञ्चमी तिथिलाई नागपञ्चमीको रुपमा मनाइन्छ ।

तर भारतका केही स्थानहरुमा श्रावण कृष्ण पञ्चमी तिथिमा पनि नाग पञ्चमी मनाइन्छ । तर नागपञ्चमी श्रावण शुक्ल पञ्चमीको दिनमा नै मनाउन श्रेयस्कर देखिन्छ । यस दिन नाग तथा सर्पको पूजा गरिन्छ । विशेष गरेर नागको पूजा गरिने पर्व भएकाले नै यस दिनलाई नागपञ्चमी भनिएको हो । यस दिन नागलाई दूधले नुहाएर पूजा गर्ने गरिन्छ ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ । आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायत प्रसाद चढाइन्छ ।

कथा १

एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे ।

सन्तान नभएको दुःखमा परेकी उनी सासू, नन्द र जेठानीहरूको व्यंग्यवाण सहन नसकेर धुरुधुरु रुन्थिन् । उनका पतिले सम्झाउँथे, ‘सन्तान हुनु नहुनु भाग्यको अधीनमा छ । किन दुःखी हुन्छौ ?’ उनी भन्थिन्, ‘सबैजना मलाई बाँझी भनेर जिस्काउँछन् ।’

पतिले भने, ‘संसारले त अनेक कुरा गर्छ नि । मैले तिमीलाई कहिल्यै कठोर वचन गरेको छैन क्यारे । तिमी मलाई ध्यान देऊ र तनाव नलिऊ ।’
पतिको कुरा सुनेर उनलाई सान्त्वना प्राप्त हुन्थ्यो । तर कसैले वचन लगाउँदा उनी रुन्थिन् ।

यसैगरी दिन बित्दै जाँदा नागपञ्चमी आयो । नागपञ्चमीको अघिल्लो रात चौथीमा उनले सपनामा पाँचवटा नाग देखिन् । तीमध्ये एक नागले उनलाई सम्बोधन गर्दै भने, ‘हे पुत्री, भोलि नागपञ्चमी छ । तिमी हाम्रो पूजा गर । त्यसपछि तिमीले सन्तान पाउनेछौ ।’

त्यसपछि उनले पाँचवटा नाग देखेको भएर पाँचै नागको आकृति बनाएर पूजा गरिन् । नागहरूलाई चिसो खानेकुरा मन पर्ने भएकाले उनले काँचो दूध चढाइन् ।
यसरी नागलाई पूजा गरेको नौ महिनापछि उनलाई सन्तानलाभ भयो ।

कथा २

कुनै गाउँमा एक किसान परिवार बस्थ्यो । किसानका दुई छोरा र एक छोरी थिए । एक दिन किसानले हलो जोत्दाखेरी नागका तीन बच्चाहरू त्यसमा किचिएर मरे ।

नागिनले पहिला त धेरै विलाप गरिन् अनि पछि आफ्नो सन्तानको हत्या गर्ने व्यक्तिसँग बदला लिने संकल्प गरिन् । राति आएर नागिनले किसान, उसकी पत्नी र दुवै छोरालाई डसिन् । छोरी चाहिँ मामाघर गएकीले बचिन् ।

भोलिपल्ट हल्लाखल्ला भएपछि मामाघरबाट छोरी आइन् । नागिन पनि उनलाई डस्नका लागि त्यहाँ आइपुगिन् । नागिनलाई देखेर छोरीले दूधको कचौरा अघि राखेर क्षमाप्रार्थना गरिन् ।

त्यसपछि नागिन प्रसन्न भएर मातापिता र दुवै भाइहरूलाई पुनर्जीवित गरिदिइन् । त्यो दिन श्रावण शुक्ल पञ्चमी तिथि परेको थियो । त्यही भएर नागहरूको कोपबाट बच्नका लागि यस दिन नागहरूको पूजा गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here