अमेरिकी ड्रोन हमलामा अल-कायदाका प्रमुख मारिए

Photo : BBC

काबुल (बीबीसी) । अल कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका हुन्।

बाइडनले ‘जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको’ बताए। ‘अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन्’ उनले भने। अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

उनको परिवारका अन्य सदस्यहरू सँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको उनीहरूले बताएका छन्। बाइडनले आफूले ७१ वर्षीय अल-कायदा नेता विरुद्ध लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको बताएका छन्।

सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले अल-कायदाको नेतृत्व लिएका थिए। सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिन-लादेन र उनले संयुक्त रूपमा बनाएका थिए। उनी अमेरिकाको मस्ट वण्टेड आतङ्कवादी खोजी सूचीमा थिए।

अल-कायदा नेता मारिँदा सन् २००१ को आक्रमणबाट पीडितका परिवारहरूलाई न्याय मिलेको महसुस हुने बाइडनले बताए। जवाहिरी सन् २००० मा १७ अमेरिकी सैनिक मारिने गरी भएको विस्फोट लगायत अन्य हिंसात्मक घटनाका पनि योजनाकार रहेको बाइडनले बताए।

‘जतिसुकै समय लागोस्, जहाँसुकै तिमी लुकेर बस यदि तिमी हाम्रा जनताका लागि खतरा छौ भने संयुक्त राज्य अमेरिकाले तिमीलाई बाहिर ल्याएरै छोड्छ, उनले भने।

तालिबानका प्रवक्ताले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय मान्यताको स्पष्ट उल्लङ्घन भनेका छन्। ‘यस्ता कदम विगत २० वर्षका असफल अनुभवको पुनरावृत्ति हुन् र यी अमेरिका, अफगानिस्तान र यो क्षेत्रकै हितको विरुद्धमा छन्,’ तालिबान प्रवक्ताले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here