काठमाडौं, १७ साउन । काठमाडौंलाई जोड्ने मूख्य राजमार्गसहित देशका विभिन्न राजमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको छ । धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडक खण्ड प्रभावित बनेका छन् ।
धादिङको तिङ्ग्राङ खानी र चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानमा आउ–जाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन प्रभावित भएका हुन् । यसले राजमार्गमा लामो लाइन लागेको छ ।
प्रहरीले सवारी साधनलाई काठमाडौंमै रोकेको छ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो गएका कारण गएरातिदेखि नै आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ ।
पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनहरुको लामो लाइन छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका १० तिङ्ग्राङ खानीमा आज बिहान तीन बजे पहिरो खसेकाले सवारी आवागमन अवरुद्ध भएको छ ।
त्यहाँको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । धादिङकै धुनिबेशी नगरपालिका९ अन्तर्गत निर्माणाधिन सुरुङमार्ग नजिकै गएराति खसेको पहिरो भने पन्छाइएको छ ।
पहिरो पूर्णरुपमा हटाएर दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उता, पोखरा महानगरपालिका बेगनासबाट लमजुङको भोर्लेटार जाने सडक र कास्कीकै नयाँपुल घान्द्रुक उल्लेरी सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।
कास्कीको पोखरा २९ घोतघोतेस्थित पृथ्वी राजमार्गमा नहरको पानी सडकमा बगिरहेकाले सवारी साधन फस्ने, दुर्घटना हुने सम्भावनाका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको छ । म्याग्दीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । दुई जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।