‘बचतकर्ताको पैसा खाएर भागेको छैन, आफ्नो सम्पत्ति बेचेर भए पनि फिर्ता गर्छु’- गौतमश्री सहकारी

काठमाडौं, १७ साउन । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनताको पैसा खाएर नभाग्ने जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष रामबहादुर गौतमको चरित्र हत्या हुने खालका भ्रामक समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार भएको र बचतकर्ताले सहकारी घेराउ गरेको भन्दै सुरक्षाको प्रबन्ध मिलाइदिन प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।

रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् ।

सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको गौतमले ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत पठाएको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार मात्रै सहकारी विभागमा गौतमश्री सहकारी विरुद्ध ठगीको उजुरी परेको थियो । १ हजार १४५ जना बचतकर्ताले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी हालेको थिए । त्यसको भोलिपल्टै गौतमले विज्ञप्ति जारी गरेका हुन् ।

उनले कोभिड-१९ महामारीका कारण लगानी भएको केही कर्जा असुल हुन नसके पनि बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको बताएका छन् ।

‘सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएपनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो’ विज्ञप्तिमा भनिएको छ ।

उनले संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएमा आफ्नो सम्पत्ति विक्री गरेर भएपनि रकम भुक्तानी गर्ने बताएका छन् । ‘तपाईंहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईंहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ गौतमले विज्ञप्तिमा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here