चीनले थाल्यो ताइवानको स्वशासित टापु क्षेत्रमा सैन्य अभ्यास, विश्वले युद्धको सामना गर्नुपर्ने सम्भावना

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै ताइवानको स्वशासित टापु क्षेत्रमा चीनले सैन्य अभ्यास गर्दैछ ।

पेलोसी ताइपेइमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि सैन्य अभ्यास सुरु गरेको हो । चिनियाँ सेनाले लडाकु विमानसहित परीक्षण पनि गरेको बताइएको छ ।

चिनियाँ मिडियाका अनुसार चिनियाँ सेनाले अगस्ट ४ देखि ७ सम्म टापुका ६ वटा क्षेत्रमा’लाइभ फायरिङ’ अभ्यास गर्ने छन् ।

यो सँगै रुस र युक्रेन युद्धले आक्रान्त बनेको विश्वले थप एक नयाँ युद्धको सामना गर्नुपर्ने सम्भावना बढेको छ ।

विश्वका दुई शक्तिशाली मुलुकका नेताले सुझबुझपूर्ण निर्णय लिन सकेनन् भने चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

ताइवानले भने चिनियाँ सेनाको यस्तो अभ्यासले संयुक्त राष्ट्र संघको नियम उल्लंघन गरेको भन्दै विरोध जनाएको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको बारेमा समाचार सार्वजनिक भएसँगै चीनले निरन्तर विरोध जनाउँदै आएको छ ।

यो वातावरण तयार हुनुमा अहिले अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण मानिएको छ । सञ्चारमाध्यमहरुले जनाए अनुसार उनी कडा सुरक्षाका बीच ताइवान पुगेकी छिन् । उता, चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको समेत जनाइएको छ ।

पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्। चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ। उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ। चिनियाँ विदेश मन्त्रालयकी एकजना प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्।

मङ्गलवार चीनले ताइवान र मुख्य चिनियाँ भूभागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमान उडाएको खबर आएको छ । उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन् र चिनियाँ सेनाको पूर्वी सैन्य कमाण्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू कुनै पनि परिस्थितिका लागि तयार रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here