नेपालबाट जापानमा शून्य लागतमा कहिले उड्लान कामदार ?

Photo: THT

काठमाडौं, १९ साउन । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउने तयारी थालिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको बताएको छ ।

जापानको प्रक्रिया रोकिएको छ, तर परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरिसकेका छन् । जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजाने गरी समझदारी भइसकेको छ ।

सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

काठमाडौंमा बस्ने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने छन् । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here