दल दर्ता प्रक्रिया शुरु, तालमेल गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने

काठमाडौं, २२ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया शुरु गर्ने भएको छ। दल दर्ताका लागि साउन ३१ सम्मको समय तोकिएको आयोगले जनाएको छ ।

आयोगको शुक्रबार बसेको बैठकले दल दर्ता आह्वान गर्ने निर्णय गरेको थियो ।

दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ ।

दल दर्ताका लागि राजनीतिक दलको पूरा नाम‚ स्थापना भएको मिति‚ आयोगमा दर्ता भएको मिति‚ केन्द्रीय कार्यालय भएको ठेगाना‚ पत्राचार गर्ने ठेगाना‚ टेलिफोन नम्बर‚ इमेल‚ वेबसाइट र सामाजिक सञ्जालको खाता खुलाउनुपर्ने आयोगले जनाएको छ।

यस्तै‚ केन्द्रीय कार्यकारिणी समिति‚ प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पनि उल्लेख गर्नुपर्ने छ।

दलले आयोगमा वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति‚ दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्ने छ।

प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्नसमेत लिन पाउने छन् । तालमेल गरेका दलले एउटै निर्वाचन चिह्नमा निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने आयोगले जनाएको हो ।

यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिह्न लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्ने चाहिँ खुलाउनुपर्नेछ । तर यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद मानिने छन् ।

सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here