रसुवागढी र तातोपानी नाकाबाट ६८ अर्बभन्दा बढीको वस्तु आयात, निर्यात शून्य

काठमाडौं, २२ साउन । चीनसँग नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी नाका हुँदै २८ महिनामा ६८ अर्बभन्दा बढीको वस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु चीनबाट नेपाल आएको छ। सो अवधिमा नेपालबाट ती नाका हुँदै एक रुपैयाँको वस्तु पनि चीनतर्फ गएको छैन।

रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो। २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन।

लामो समयदेखि रसुवागढी र तातोपानी नाकाबाट चीनले आफ्नो भूमिमा नेपाली वस्तु भित्रिन दिएको छैन। कारण उसले कोरोना महामारी देखाउँदै आएको छ।

तर चीनबाट नेपाल भित्रने वस्तुमा भने कुनै रोकतोक गरेको छैन। चीनको यो रवैयाले गर्दा नेपाली व्यावसायी मर्कामा पर्दै आएका छन्। उनीहरू अन्य बाटो प्रयोग गरी वस्तुहरू चीन पठाउन बाध्य भएका छन्।

गत आर्थिक वर्ष वर्ष २०७८/७९ मा मात्र रसुवागढी र तातोपानी नाकाबाट ४० अर्ब ६५ करोड २६ लाख ६० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ। रसुवागढीबाट २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ र तातोपानीबाट १४ अर्ब २ करोड ३७ लाख २० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको देखिन्छ।

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ गरी २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को चैत, वैशाख, जेठ र असार महिनामा रसुवागढीबाट ७ करोड ७८ लाख २१ हजार रुपैयाँ र तातोपानीबाट ४ अर्ब ६३ करोड ८ लाख ९२ हजार रुपैयाँ गरी ४ अर्ब ७० करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here