काठमाडौं। टाटा मोटर्सले फोर्डको भारतस्थित प्लान्ट किनेको छ । सो प्लान्ट साढे ७ अर्ब भारुमा किनेको हो । गुजरातको सानन्द प्लान्ट ९१ मिलियन डलरमा खरिदबिक्रीका लागि दुई कम्पनीबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।
अमेरिकी मोटर कम्पनी फोर्डले भारतबाट बाहिरिने घोषणा गरेसँगै बन्द भएको प्लान्टलाई टाटाले आफ्नो विद्युतीय सवारी उत्पादनको लागि प्रयोग गर्ने जनाएको छ।
सो प्लान्टमा टाटाको हाल बिक्री भइरहेको नेक्सन इभी, टिगोर इभीलगायत आगामी दिनमा निर्माण गरिने इभीका मोडलहरु बनाइने छ। साथै कम्पनीले यस प्लान्टमा ल्यान्डरोभरको पनि उत्पादन हुन सक्ने जानकारी दिएको छ ।
गत वर्ष सेप्टेम्बरमा, फोर्डले आफ्नो भारतीय कार कारखानाहरू बन्द गर्ने कदम चालेको थियो । दुई दशकभन्दा बढी समयदेखि नाफा कमाउन संघर्ष गरिरहे पनि सफल नभएपछि भारतस्थित प्लान्ट बन्द गर्ने निर्णयमा पुगेको हो । सो को लागि करिब २ अर्ब डलर खर्च गर्ने बताएको थियो।
त्यतिबेला अमेरिकी कार निर्माता कम्पनीले यो निर्णयबाट करिब ४ हजार कामदार प्रभावित हुने बताएको थियो ।भारतमा फोर्डको सञ्चालनले अघिल्लो दश वर्षमा २ अर्ब डलरको घाटा देखेको थियो।
टाटाले आफ्नो विद्युतीय मोबिलिटी युनिटमार्फत प्लान्टमा नयाँ मेसिनरी र उपकरणमा लगानी गर्ने र काम सम्पन्न भइसकेपछि प्रत्येक वर्ष ३ लाख युनिटको उत्पादन क्षमता हुने अपेक्षा गरेको छ। टाटाका अनुसार यस प्लान्टमा अब वार्षिक ४ लाख युनिट गाडी उत्पादन गर्न सक्ने क्षमताको हुनेछ।






















